काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सरकारले डा. मनोजकुमार शर्मा लाई कार्यक्षमताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको दाबी गरे।
उनले न्याय क्षेत्र सुधारको आवश्यकता लामो समयदेखि उठ्दै आएको उल्लेख गर्दै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्धलाई थप स्पष्ट र सन्तुलित बनाउनुपर्ने बताए।
पोखरेलले न्याय परिषद्को संरचनामाथि पनि प्रश्न उठाउँदै पाँच सदस्यीय परिषद्मा तीन जना राजनीतिक नियुक्तिजस्तो देखिने अवस्था रहेको टिप्पणी गरे। उनले त्यहाँबाट सिफारिस हुने न्यायाधीशहरू पनि राजनीतिक पृष्ठभूमिबाट आउने गरेको चर्चा भइरहेका बेला सरकारले यसपटक मुद्दा फर्छ्यौट र कार्यक्षमताको आधारमा प्रधानन्यायाधीश सिफारिस गरेको जिकिर गरे।
उनका अनुसार सरकारले अपनाएको प्रक्रिया पूर्ण रूपमा आदर्श पद्धति भएको दाबी नगरे पनि कार्यसम्पादन र क्षमता मूल्यांकनलाई प्राथमिकता दिइएको हो।




















