काठमाडौँ । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोजकुमार शर्मा शुक्रबार इजलासमा बसेका छैनन्।
सर्वोच्च अदालतमा आज १४ वटा इजलास तोकिए पनि मल्ल र शर्मा कुनै पनि इजलासमा सहभागी नभएको अदालत स्रोतले जनाएको छ।
यस्तै, न्यायाधीश तिलप्रसाद शर्मा पनि शुक्रबारको इजलासमा समावेश छैनन्। बाँकी १५ जना न्यायाधीशका इजलास गठन गरिएको छ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। रोलक्रममा पहिलो वरियतामा रहेकी सपना प्रधान मल्ललाई छोडेर परिषद्ले चौथो वरियताका शर्माको नाम अघि सारेको हो।




















