काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश गरेका हुन्।
वरिष्ठ अधिवक्ता त्रिपाठीले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत प्रधानन्यायाधीश सिफारिस गरिएको दाबी गर्दै उक्त निर्णय बदरको मागसहित रिट दायर गरिएको बताएका छन्। रिट औपचारिक रूपमा दर्ता हुन भने बाँकी रहेको उनले जानकारी दिए।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
परिषद्ले पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका हरिप्रसाद फुयाल लाई छोडेर शर्माको नाम सिफारिस गरेको थियो।
उक्त निर्णयमा संवैधानिक परिषद्का दुई सदस्यले असहमति जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले असहमति जनाए पनि प्रधानमन्त्री बालेन्द्र शाहले शर्माकै नाम अघि बढाएका थिए।




















