काठमाडौँ । केही सातादेखि मत्थर बनेको मध्यपूर्वको तनाव फेरि चर्किन थालेको छ। होर्मुज स्ट्रेट क्षेत्रमा अमेरिका र इरानबीच गोलाबारी भएको घटनालगत्तै शुक्रबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज मिसाइल तथा ड्रोनलाई वायु रक्षा प्रणालीले रोकेको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत देशका विभिन्न भागमा विस्फोटजस्ता आवाज सुनिनुको कारण हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुनु रहेको जनाएको छ।
मन्त्रालयले नागरिकलाई शान्त रहन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार होर्मुज स्ट्रेटमा इरानले अमेरिकी जहाजमाथि हमला गरेपछि अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको बताएका थिए।
ट्रम्पका अनुसार आक्रमणमा परेका जहाजमा तीन अमेरिकी विध्वंसक रहेका थिए र ती सुरक्षित रूपमा होर्मुज क्षेत्र पार गर्न सफल भएका छन्। उनले अमेरिकी प्रतिआक्रमणमा इरानका थुप्रै साना डुंगा नष्ट भएको तथा अमेरिकी जहाजतर्फ प्रहार गरिएका मिसाइलहरू खसालिएको दाबी गरेका छन्।
उता इरानी सेनाले भने अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमाथि हवाई हमला गरेपछि सुरु भएको तनाव केही साताअघि युद्धविराम घोषणापछि मत्थर बनेको थियो। तर होर्मुज स्ट्रेटमा जहाज आवतजावत र सामरिक नियन्त्रणलाई लिएर अमेरिका–इरानबीच विवाद जारी रहँदै आएको थियो।
बिहीबारको गोलाबारी र त्यसपछिको हवाई हमलाले मध्यपूर्वमा फेरि ठूलो स्तरको द्वन्द्व सुरु हुन सक्ने चिन्ता बढाएको छ।
तस्बिर : रोयटर्स




















