काठमाडौं । टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षा शिक्षामा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
बिहीबार पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र केसीसीका प्रिन्सिपल राजु कट्टेल ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै संस्थाले एआई र साइबर सुरक्षामा केन्द्रित प्राविधिक तालिम, कार्यशाला, बुटक्याम्प तथा सेमिनार सञ्चालन गर्नेछन्। यससँगै विद्यार्थी र प्राध्यापकहरूलाई उद्योगसँग प्रत्यक्ष जोड्ने कार्यक्रम अघि बढाइने जनाइएको छ।
सहकार्यअन्तर्गत योग्य विद्यार्थीहरूले टेकपाइलामा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् भने संस्थाको नेटवर्कमार्फत रोजगारीका अवसरमा समेत पहुँच विस्तार गरिनेछ। साथै, पाठ्यक्रमलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्न दुवै संस्थाले संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।
यसैगरी, विद्यार्थीहरूमा अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्न ‘ह्याकाथन’, ‘आइडिया फेस्ट’ तथा उद्योग–शिक्षा संवाद कार्यक्रम आयोजना गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले उद्योग र शिक्षाबीचको सहकार्यले दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थीलाई व्यवहारिक सीप, मेन्टरसिप र आधुनिक उपकरण उपलब्ध गराएर उद्योगका लागि तयार जनशक्ति निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गरे।
प्रिन्सिपल राजु कट्टेलले केसीसी सूचना प्रविधि शिक्षामा अग्रणी संस्थाका रूपमा स्थापित रहेको उल्लेख गर्दै यो सहकार्यले विद्यार्थीहरूलाई प्रयोगशाला, विज्ञ मार्गदर्शन र अन्तर्राष्ट्रियस्तरका प्रमाणपत्र प्राप्त गर्न सहयोग पुग्ने बताए ।
दुई वर्षका लागि गरिएको उक्त सम्झौताले एआईमा आधारित समाधान विकास, सुरक्षा अडिट तथा डिजिटल क्षमता अभिवृद्धिमा समेत सहकार्य गर्ने जनाइएको छ।
टेकपाइला इनोभेसन साइबर सुरक्षा सेवा, एआई अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा सक्रिय संस्था हो भने पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केसीसी सूचना प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षामा परिचित शैक्षिक संस्था हो।




















