काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीसँग ३०औँ जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एसियाका लागि विशेष दूतका रूपमा नियुक्त भएका डा.अरुणाभ घोषले भेटवार्ता गरेका छन्।
मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबिच कार्बन उत्सर्जनका कारण वृद्धि भएको तापक्रमले हिमालमा पारेको असरलगायत जलवायु परिवर्तनका जोखिमबारेमा छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा मन्त्री चौधरीले हिमाल पग्लिने क्रम बढ्दै जाँदा तल्लो तटीय समुदायसमेत प्रभावित भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तन साझा विश्वव्यापी समस्या भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएकी थिइन्।
साथै उनले राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना तथा उच्च लक्ष्यसहितको ‘एनडिसी ३.०’ कार्यान्वयनमा ल्याएको अवगत गराएकी थिइन्।
उनले आगामी कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालले भारतसहित छिमेकी तथा समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्याय र साझा एजेन्डालाई अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गरिन्। रासस




















