काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।
हाल कामु प्रधानन्यायाधीश रहेकी सपना प्रधान मल्लसहित वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा संसदीय सुनुवाइबाट अनुमोदित भएमा पूर्ण ६ वर्षे कार्यकाल प्रधानन्यायाधीशका रूपमा रहनेछन्। ४ असार २०२७ मा पर्सामा जन्मिएका उनी ३ असार २०९२ मा ६५ वर्ष पुग्नेछन्। त्यसअनुसार उनी वैशाख २०८९ सम्म प्रधानन्यायाधीश पदमा रहने सम्भावना छ।
प्रजातन्त्र पुनर्स्थापनापछि नेपालमा कुनै पनि प्रधानन्यायाधीशले पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन्।
शर्माले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन्। उनले श्रम कानुनसम्बन्धी विषयमा विद्यावारिधिसमेत गरेका छन्।
यसअघि उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा नियुक्त भएका थिए। अस्थायी न्यायाधीशको व्यवस्था हटाइएपछि अवकाशमा परेका शर्मा पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश रहेका बेला सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए। त्यसपछि उनी संसदीय सुनुवाइबाट अनुमोदित भई सर्वोच्च अदालतमा नियुक्त भएका हुन्।




















