रुपन्देही । मोहना अन्सारी नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको अनुसन्धान आयोगमा समेटिएकी छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेपछि विवादमा तानिएकी अन्सारीले अहिले भने औपचारिक रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको घोषणा गरेकी हुन्।
बाँके स्थायी घर भएकी अन्सारी लामो समयदेखि मानव अधिकार, सामाजिक न्याय र लैङ्गिक समानताका क्षेत्रमा सक्रिय अभियन्ताका रूपमा चिनिन्छिन्। उनी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त हुन् भने राष्ट्रिय महिला आयोगसँग पनि आबद्ध भएर काम गरिसकेकी छन्। उनी नागरिक समाज, बृहत् नागरिक आन्दोलन तथा विभिन्न सामाजिक अभियानमा अग्रपंक्तिमा सक्रिय रहँदै आएकी छन्।
यसअघि रास्वपाले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीमा अन्सारी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा समावेश भएकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना भएपछि उनले आफ्नो राजनीतिक तथा सामाजिक पृष्ठभूमिबारे धारणा सार्वजनिक गरेकी थिइन्।
त्यतिबेला अन्सारीले आफू कुनै पनि राजनीतिक दलको सदस्य वा कार्यकर्ता नरहेको स्पष्ट पार्दै विगत ३२ वर्षदेखि सामाजिक न्याय, मानव अधिकार, लैङ्गिक समानता र कानुनी शासनका पक्षमा निरन्तर सक्रिय रहेको बताएकी थिइन्। साथै विभिन्न दलका समर्थक र मुखौटाधारी व्यक्तिहरूबाट आलोचना र गाली व्यहोर्नुपरेको अनुभवसमेत साझा गरेकी थिइन्।
पत्रकार, सामाजिक परिचालक, लैङ्गिक समतामूलक प्रशिक्षक तथा कानुन व्यवसायीका रूपमा समेत परिचित अन्सारीले संवैधानिक आयोगहरूमा करिब एक दशक काम गरेकी छन्। उत्पीडित तथा आवाजविहीन समुदायको पक्षमा उनले लामो समयदेखि वकालत गर्दै आएकी छन्।
कांग्रेसमा आबद्ध भएको घोषणा गर्दै अन्सारीले सामाजिक सञ्जालमार्फत अब औपचारिक रूपमा राजनीतिक जीवन सुरु गरेको उल्लेख गरेकी छन्। उनले नेपाली कांग्रेसको “ल्याटरल इन्ट्री” अवधारणाले युवाको आकांक्षा सम्बोधन गर्ने, पार्टीभित्र रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने विश्वास व्यक्त गरेकी छन्।
उनले लोकतन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माण गर्ने पार्टीका रूपमा नेपाली कांग्रेससँग जोडिएको बताउँदै नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत पार्टी र देशको हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले लेखकी छिन “आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ।
एउटा कुरास्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो । आजबाट विधिवत रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।
जेन-जी आन्दोलनपश्चात बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्नेछु।”




















