काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यको निर्वाचन परिणामलाई आधार बनाएर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्नु उचित नहुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने राजनीतिक परम्परा रहेको उल्लेख गरे। अघिल्लो निर्वाचनमा मात्रै वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको स्मरण गराउँदै उनले कुनै एक चुनावी परिणामलाई आधार बनाएर वाम आन्दोलनको भविष्य निर्धारण गर्न नसकिने बताए।
पोखरेलले नेपालको वामपन्थी आन्दोलनको भविष्य त्यसका भविष्यमुखी एजेन्डा, जनतासँगको सम्बन्ध, तथा राष्ट्रहितका पक्षमा गरिने गतिविधिका आधारमा तय हुने धारणा राखेका छन्।
उनले वर्तमान हारलाई केवल वामपन्थी शक्तिको हारका रूपमा नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार अहिले लोकतान्त्रिक आन्दोलनको आधार बनेका राजनीतिक शक्तिहरूले हारको कारण खोज्दै गम्भीर समीक्षा र मूल्यांकन गर्न आवश्यक छ।
साथै उनले सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना आवश्यक रहेको बताएका छन्।
महासचिव पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनवादलाई अवसरवादी र कायर प्रवृत्तिको संज्ञा दिँदै क्रान्तिकारी शक्तिले चुनौतीको सामना गर्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्नुपर्ने उल्लेख गरेका छन्।




















