हेटौंडा । सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो दुधौली नगरपालिका–१ राँगेस्थित सडकखण्डमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ जाँदै गरेको बोलेरो तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाका बेला गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा पाँच जना घाइते भए पनि बेहुला भने सकुशल रहेका प्रहरीले जनाएको छ।
घाइते हुनेमा फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ६० वर्षीय साने विक, ४० वर्षीय सोमबार नेपाली तथा तीनपाटन गाउँपालिका–१ का २१ वर्षीय श्याम दुराल रहेका छन्। उनीहरू सबै बेहुलाका आफन्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ।
घाइतेमध्ये योगबहादुरलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरेका थिए।




















