काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाअन्तर्गत मध्यमग्राम क्षेत्रमा गोली हानी हत्या गरिएको छ। बुधबार राति मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनी सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
हालै सम्पन्न चुनावमा अधिकारीले भवानीपुरबाट टीएमसी नेतृ तथा निवर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई करिब १५ हजार मतान्तरले पराजित गरेका थिए ।
गम्भीर घाइते भएका रथलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा चालक बुद्धदेव बेरा पनि घाइते भएका छन् र उनको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई कोलकातास्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चारवटा मोटरसाइकलमा आएका करिब आठ जनाले योजनाबद्ध रूपमा हमला गरेको प्रहरीको अनुमान छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ।
राज्यका डीजीपी सिद्ध नाथ गुप्ताले प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको तर त्यसमा राखिएको नम्बर प्लेट नक्कली भएको बताएका छन्। घटनास्थलबाट केही करतुत समेत बरामद भएको उनले जानकारी दिए।
यस घटनापछि भाजपा नेता तथा कार्यकर्ताहरूमा तीव्र आक्रोश फैलिएको छ। शुभेन्दु अधिकारीले घटनालाई “पूर्व योजनाबद्ध हत्या” भन्दै यसको रेकी केही दिनअघिदेखि गरिएको दाबी गरेका छन्। उनले पश्चिम बंगालमा सत्तारुढ तृणमूल कांग्रेसमाथि “महाजंगलराज” सिर्जना गरेको आरोपसमेत लगाएका छन्।
यता तृणमूल कांग्रेसले पनि घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गरेको छ। पार्टीले अदालतको निगरानीमा सीबीआई अनुसन्धान गरिनुपर्ने मागसमेत अघि सारेको छ।
को थिए चन्द्रनाथ रथ ?
४१ वर्षीय चन्द्रनाथ रथ मूलतः चाँदीपुर निवासी थिए। उनी शुभेन्दु अधिकारीका अत्यन्त निकट सहयोगीका रूपमा चिनिन्थे र पश्चिम बंगालको राजनीतिमा अधिकारीको उदयसँगै पर्दापछाडिबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
रथले रामकृष्ण मिशनबाट अध्ययन पूरा गरेका थिए। त्यसपछि उनले करिब दुई दशक भारतीय वायु सेनामा सेवा गरेका थिए। स्वेच्छिक अवकाशपछि केही समय कर्पोरेट क्षेत्रमा काम गरेका उनी पछि राजनीतिक समन्वय र प्रशासनिक गतिविधिमा सक्रिय बनेका थिए।
उनको परिवार पनि पहिले तृणमूल कांग्रेससँग आबद्ध रहेको बताइन्छ। अधिकारी परिवारसँग रथ परिवारको सम्बन्ध दुई दशकभन्दा पुरानो रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
रथ भाजपा संगठनभित्र रणनीतिक र संगठनात्मक भूमिकामा सक्रिय मानिन्थे। पश्चिम बंगाल विधानसभा निर्वाचनपछि शुभेन्दु अधिकारीले सरकारमा महत्वपूर्ण भूमिका पाए रथलाई पनि प्रशासनिक जिम्मेवारी मिल्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको थियो।
उनको हत्या भएपछि पश्चिम बंगालको राजनीतिक वातावरण फेरि तनावपूर्ण बनेको छ।




















