काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धमा छलफल हुने बाइएको छ ।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरे लगत्तै परिषदको बैठक बोलाइएको हो ।
यो अध्यादेश जारी भएसँगै ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार कायम गरिएको छ । यो अवस्थामा संवैधानिक परिषद्का तीनजना सदस्यको बहुमतमा प्रधानमन्त्री वालेन्द्र शाहले निर्णय गराउन सक्ने छन् ।
राष्ट्रपति पौडेलले सरकारले अघिल्लो साता सिफारिस गरेको त्यही अध्यादेश सरकारलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः पठाएपछि राष्ट्रपतिले अध्यादेश जारी जारी गरेका थिए ।




















