काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश नियुक्तिमा जालझेल गरिएको आरोप लगाएका छन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन प्रक्रिया अघि बढाएको दाबी गरे। “तर्कसहित निर्णय गराउने होइन, आफ्नो प्रस्ताव जबर्जस्ती पारित गराउने प्रयास भइरहेको छ,” उनले भने।
उनका अनुसार परिषद् बैठकमा प्रधानमन्त्री, सभामुख र कानूनमन्त्रीको उपस्थितिमा बहुमत जुटाएर निर्णय गराउने योजना बनाइएको छ। उनले संवैधानिक परिषद्लाई नियन्त्रणमा राख्न अध्यादेश ल्याइएको आरोपसमेत लगाए।
यससँगै थापाले सुकुम्वासी र भूमिहीन नागरिकप्रति राज्यको व्यवहारप्रति पनि कडा असन्तुष्टि जनाए। संविधान र विद्यमान कानुनले उनीहरूको हक सुनिश्चित गरिसकेको उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्नु अनुचित भएको बताए।
“राज्यले बल प्रयोग गर्न सक्छ, तर क्रूर बन्न पाउँदैन,” उनले भने, “बुद्ध पूर्णिमाजस्तो दिनमा संरचना भत्काउने, विद्यालयमा डोजर चलाउने जस्ता गतिविधि अस्वीकार्य छन्।”
उनले सुकुम्वासीको नाममा गैरकानुनी रूपमा लाभ लिन खोज्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने पनि बताए।
थापाले विगतमा विभिन्न दलबीचको सहमतिमा भूमि सम्बन्धी विधेयकमा व्यापक संशोधन गरिएको स्मरण गराउँदै हालको अवस्थाले राज्यको व्यवहार ‘निर्मम र क्रूर’ बनेको आरोप लगाए।
यद्यपि, सरकारका केही सकारात्मक कदमहरूमा नेपाली कांग्रेसको समर्थन रहने उल्लेख गर्दै उनले विपक्षी दलको भूमिका सशक्त रूपमा निर्वाह गर्ने बताए।




















