काठमाडौं । विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण विभागले दुवैलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।
बुधबार म्याद थपका लागि उनीहरूलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। सो क्रममा अदालतले भट्टको हकमा पाँचौँपटक र अग्रवालको हकमा छैटौँ पटक म्याद थप गर्ने अनुमति दिएको हो।
यसबीच उनीहरूको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालत मा पनि सुनुवाइ भइरहेको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को संयुक्त इजलासले म्याद थपको आदेश दिएको हो।
अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार संयुक्त अनुसन्धान टोली गठन भई अनुसन्धान भइरहेको तथा सम्बन्धित दफा र हालै अध्यादेशमार्फत संशोधित व्यवस्थाहरूलाई समेत आधार मानेर म्याद थप गरिएको उल्लेख गरेको छ।



















