काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान खड्काको गल्फुटारस्थित निवासमा पुगेका थापा र शर्माले खड्कासँग कांग्रेसभित्रको एकता लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताइएको छ।
सर्वोच्च अदालतले वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि सभापति थापाले वैशाख ६ मा खड्कासँग भेटवार्ता गरेका थिए। त्यसैगरी वैशाख १५ मा थापा र नेता रमेश लेखक बीच पनि छलफल भएको थियो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्न सभापति थापाले असन्तुष्ट नेताहरूलाई समेट्दै संवाद अघि बढाएको जनाएका छन्।
यसअघि मंगलबार थापाले नेता शेखर कोइरालासँग विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट गरी पार्टी एकता कायम राख्ने विषयमा करिब एक घण्टा छलफल गरेका थिए।
खड्का र कोइराला समूहले पार्टी एकताको बल सभापति थापासँग रहेको बताउँदै कुरा मिल्न नसके अलग्गै ढंगले अघि बढ्ने तयारी समेत गरेका छन् ।




















