काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न परिषद् बैठक आह्वान गरिएको हो।
स्रोतका अनुसार बैठक बिहीबार साँझ ५ बजेका लागि तय गरिएको छ।
सरकारको दोस्रो सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका महत्वपूर्ण संवैधानिक पदहरू रिक्त छन्। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद खाली छ भने एक सदस्यबाहेक अन्य पदहरू रिक्त छन्।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा एक सदस्य पद रिक्त रहेको छ भने समावेशी आयोग मा अध्यक्ष र एक सदस्य पद खाली छन्। महिला आयोग मा पनि एक सदस्य पद रिक्त छ भने मुस्लिम आयोग र थारू आयोगमा समेत पदाधिकारीहरू नियुक्त हुन बाँकी छन्।
नेपालको कानुनी व्यवस्थाअनुसार संवैधानिक पदहरूमा सरकारले सिफारिस गर्ने, त्यसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान रहेको छ।




















