काठमाडौं । काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–९ बोडेका ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजवाहक र भुजेललाई पक्राउ गरेको हो भने महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूले गत १७ वैशाखमा इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाउँदै लुट्ने प्रयास गरेका थिए। तर पसलमा रहेकी महिलाले साहसिक रूपमा प्रतिकार गरेपछि उनीहरू भाग्न बाध्य भएका थिए। उक्त घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
प्रहरीका अनुसार यही समूहले यसअघि २१ पुसमा काठमाडौं–२५ मांसान गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाउँदै लुटपाट गरेको थियो। सो क्रममा उनीहरूले २ तोला सुनको सिक्री, नगद ४ लाख रुपैयाँ, दुई थान मोबाइल र सीसी क्यामेरा लुटेका थिए।
पक्राउ परेका व्यक्तिहरूबाट चाइनीज पेस्तोल, एक थान म्यागजिन, एक राउन्ड गोली, एक थान नक (नक्कली सामान), घटनामा प्रयोग भएका कपडा तथा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।



















