काठमाडौं । नेपाली कांग्रेसले पाँच भ्रातृ संगठन स्वतः विघटन भएका जनाएको छ। केन्द्रीय कार्यसम्पादन समितिले ती संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने निर्णय गरेसँगै विघटन भएको हो ।
विघटन हुने संगठनमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल दलित संघ रहेका छन्।
तरुण दलका अध्यक्ष विद्वान गुरुङ र दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले यसअघि नै राजीनामा दिइसकेका छन्। उनीहरू तत्कालीन सभापति शेरबहादुर देउवानिकटका मानिन्छन्।
पार्टी नेतृत्वमा गगन थापा आएपछि समयमै महाधिवेशन गर्न नसकेका कारण सम्बन्धित अध्यक्षहरू जिम्मेवारीबाट अलग भएका हुन्। यसअघि पार्टीले २०८१ चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो।
पछि थप समय दिइए पनि अधिकांश संगठनले तोकिएको मितिभित्र महाधिवेशन सम्पन्न गर्न नसकेको र आवश्यक तयारीसमेत नदेखिएकाले म्याद नथप्ने निष्कर्षमा पार्टी पुगेको हो।
का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार म्याद सकिएका समितिहरूले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरू स्वतः अवैध भएका छन्।
यस्तै, नेपाल थारु संघको महाधिवेशन जेठ १६–१७ गते तय भएकाले सो अवधिसम्मका लागि समयावधि थप गरिएको कांग्रेसले जनाएको छ।




















