हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सँग सम्बन्धित घर तथा निर्माण कम्पनीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।
सोमबार विभागले हेटौँडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) तथा काठमाडौंस्थित कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको जनाएको छ ।
यस घटनापछि मुख्यमन्त्री बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन प्रक्रियाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले लामो राजनीतिक यात्रापछि आफू जनताको सेवामा समर्पित रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्राथमिकता रहेको धारणा व्यक्त गरे ।
विज्ञप्तिमा प्रदेश सरकारको कामकारबाही पारदर्शी र आर्थिक रूपमा मितव्ययी बनाउने नीतिअनुसार अघि बढाइएको दाबी गर्दै उहाँले राज्यका निकायले गर्ने कानूनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यद्यपि, विभागले अकस्मात् छापा मारेकोप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे आफू स्वयम् उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न तयार रहेको उनले बताएका छन् । सञ्चार माध्यममा आएका समाचारका कारण आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा असर परेको पनि उनले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री बानियाँले नागरिक, शुभेच्छुक तथा समर्थकहरूलाई भ्रममा नपर्न आग्रह गर्दै संवैधानिक र कानूनी दायराभित्र हुने हरेक अनुसन्धानमा आफू सहकार्य गर्ने पुनः स्पष्ट पारेका छन् ।





















