काठमाडौँ । सरकारले लिपुलेक लगायतका सीमा क्षेत्र नेपालको भूभाग नै भएको दोहोर्याउँदै यस विषयमा आफ्नो अडान स्पष्ट र दृढ रहेको जनाएको छ।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।
उनका अनुसार लिपुलेकलगायत विवादित क्षेत्रका विषय अब दुई देशबीच कूटनीतिक संवाद र सहकार्यमार्फत समाधान खोजिनेछ। परराष्ट्र मन्त्रालयले जारी गरेको नोट औपचारिक रूपमा पठाइएको पत्र भएको समेत उनले स्पष्ट पारे।
भारततर्फबाट हालै सार्वजनिक गरिएको भनिएको वक्तव्यप्रति प्रतिक्रिया दिँदै उनले नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आरोप अस्वीकार गरे। “यो सीमा विस्तार गरिएको विषय होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्,” उनले भने, “यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा पूर्ण प्रतिबद्ध छ।”




















