काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह ग्रहण गर्दै राष्ट्र, सीमा र नागरिक सुरक्षाप्रति आफ्नो निष्ठा सधैँ अटल रहने बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्ह ग्रहणपछि सम्बोधन गर्दै आईजीपी पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
उनले संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने बताए।
“राष्ट्र, संविधान, सीमा र नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैँ अटल रहनेछ,” उनले भने।
यसका साथै उनले सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी र भ्रष्टाचारमुक्त संस्थाका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारे।
सरकार, गृहमन्त्रालय, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा नागरिक समाजसँग सहकार्य गर्दै संस्थागत सुधार र प्रभावकारी कार्यसम्पादनमा जोड दिने उनको भनाइ छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो।




















