काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले सुकुम्बासी बस्तीमा चलाइएको डोजर अभियानप्रति आलोचना गरेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले अघि बढाएको बस्ती हटाउने कार्यलाई लिएर उनले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका हुन्।
राउतले ‘विवेकी र उत्तरदायी नेतृत्व’ जनतासँग संवाद गर्ने, उनीहरूको दुःखपीडा बुझ्ने र त्यसअनुसार निर्णय गर्ने हुनुपर्ने बताएका छन्। उनले कागजी योजना र माथिल्लो आदेशलाई मात्रै आधार मानेर आँखा चिम्लेर गरिने कार्यले ठूलो मानवीय क्षति निम्त्याउने चेतावनी दिए।
राउतले आफ्नो प्रतिक्रियामा ‘बुख्याचा नेतृत्व’ को उदाहरण दिँदै त्यस्तो नेतृत्वले सीधा नक्सा अनुसार डोजर चलाएर सयौंलाई विस्थापित गर्ने, घर भत्काउने र त्यसलाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्ने आरोप लगाए। यस्ता गतिविधिलाई सामाजिक सञ्जालका ‘अल्गोरिदम’ र ‘फेक अनलाइन’ ले समेत प्रोत्साहन गरिरहेको उनको टिप्पणी छ।
उनका अनुसार यदि विवेकी नेतृत्वलाई त्यही जिम्मेवारी दिइएमा उसले वैकल्पिक उपाय खोज्ने, आवश्यक परे नक्सा परिवर्तन गरेर ‘बाइपास’ बाट बाटो निर्माण गर्ने निर्णय गर्न सक्नेछ। कानून र विकास अन्ततः जनताकै सेवाका लागि हुनुपर्ने उनको जोड छ।
राउतले ट्रोल र आलोचनाप्रति लक्षित गर्दै आफ्नो पार्टी कमेन्ट हेरेर नभई अन्तरात्माको आवाजका आधारमा राजनीति गर्ने बताउँदै दबाब वा भयका कारण चुप लाग्ने प्रवृत्ति आफूहरूमा नरहेको स्पष्ट पारे।
उनले लेखेका छन् –
विवेकी र उत्तरदायी नेत्तृत्व भने जनतासँग संवाद गर्छ, जनताको दुःखपीडा बुझ्छ, जनताको कुरा सम्बोधन गर्छ, वृहत् लक्ष्य र जिम्मेबारीलाई ध्यानमा राख्छ र सोही अनुरुप विवेकपूर्ण निर्णय गर्दछ ।
जस्तैः बुख्याचा नेत्तृत्वलाई कुनै गाउँबाट सीधा बाटो बनाउने नक्सा माथिबाट आउँछ । उसले यो माथिको आदेश हो, यै कानून हो, ‘म त यति कडा, उति कडा’ भन्दै आँखा चिम्लेर नक्सा अनुसार धागो हालेर सिनित्त सीधा पार्दै बाटोमा डोजर लगाउँदै खाली गराउँछ, चाहे त्यसको लागि सैकडौंको ज्यान जाओस्, सैकडौं टुहुरा बनून, हजारौं बेघर बनून् । उसलाई केहीले छुँदैन । ऊ त बस कागज अनुसार काम फत्ते गर्नुलाई नै बहादुरी ठान्दछ ! डोजर ल्याउँछ, भीड जम्मा गर्छ, विध्वंसलाई ग्ल्यामरस बनाउँछ, क्यामेराम्यान ल्याउँछ, तमाशा देखाउँछ, आफ्नो दम्भ र शक्ति प्रदर्शन गर्दछ । आफू कति शक्तिशाली भएको साबित गर्छ । अनि अहिले त ‘अल्गोरिदम’ र हजारौं ‘फेक अनलाइन’ हरू ले त्यसलाई स्तुतिगान पनि गर्दिन्छन् ।
त्यही ठाउँमा विवेकी नेत्तृत्वलाई सोही काम सौपिंयो भने उसले पहिला हेर्छ यो बाटो गाउँ भएर बनाउँदा १००० जनाको घर तोड्नु पर्ने हुन्छ, कसैको घर नै बच्दैन । त्यसैले आफ्नो विवेक, समझदारी, दूरदृष्टि र मानवीय संवेदना प्रयोग गरेर उसले यस्तो काम किन गर्ने, बरू नक्सा परिवर्तन गरेर भए पनि ‘बाइपास’बाट बाटो बनाउने तिर लाग्छ । किनकि उसलाई थाहा हुन्छ आखिर बाटो त जनताको लागि न बनाउने हो, कानून त अन्ततः जनताको सेवा गर्नका लागि हो, न कि जनताको घर भत्काएर लाखौं जनतालाई दुःख दिनका लागि ।
ट्रोल गर्नेहरूका लागिः हामी कमेन्ट पढेर राजनीति गर्दैनौं, के ठीक हो के ठीक होइन हाम्रो अन्तरात्माले के भन्छ त्यो सुनेर राजनीति गर्छौं । ट्रोल हुने डर वा राज्यको दमनको भयले चुप लाग्ने मान्छे परेनौं, हाम्रो इतिहास हेर्नुहोला । केही होला नहोला त्यो आफ्नो ठाउँमा छ, तर आज बोलेनौं भने इतिहासले के भन्ला, भन्ने पीर हामीलाई बढी छ । तपाईंहरू आफ्नो काम जारी राख्नुहोला । धन्यवाद ।




















