काठमाडौं । नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा प्रस्तावित प्रणाली र यसको कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको हो।
बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसंगठनका प्रतिनिधिहरू सहभागी थिए। संगठन विभागले प्रस्तुत गरेको डेमोमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता प्रवेश तथा अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको थियो।
उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने बताए। यस्तै, संगठन विभागका संयोजक तथा केन्द्रीय सचिव भानुभक्त ढकालले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र एकीकृत बनाउने लक्ष्य रहेको स्पष्ट पारे।
अब पार्टीको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ, जसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकसाथ लागू गर्ने तयारी गरिएको छ। साथै, प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यता सहजीकरण गरिनेछ र संगठनका सबै तहका नेताहरूको बायोडाटा समेत डिजिटल रूपमा अभिलेखीकरण गरिनेछ।
यसअघि संगठन विभागको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्ताव अघि सारेको थियो। संयोजक ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ।




















