काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले ‘डोजर आतंक’ मच्चाइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा गरिएको कारबाहीका कारण मानविय क्षति समेत भएको दाबी गरे । राज्य आतंकको पर्याय बन्न नहुने उल्लेख गर्दै उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार विद्यालयहरूमा समेत डोजर प्रयोग हुँदा सयौँ विद्यार्थी प्रभावित भई भविष्य अन्योलमा परेको छ । सरकारलाई मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्दै उनले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले देशलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफूहरूको कुनै असहमति नरहेको स्पष्ट पार्दै खोला–नाला, राजधानी र विभिन्न भूगोललाई आकर्षक बनाउने कार्य सबैको साझा चाहना भएको बताए । तर त्यसका लागि विधि र प्रक्रिया मिच्न नहुनेमा जोड दिँदै लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहेर काम गर्न सरकारलाई सुझाव दिए ।
नेता आङ्देम्बेले बल प्रयोगमार्फत गरिने व्यवस्थापनले नागरिकमा त्रास सिर्जना गर्ने र त्यसले दीर्घकालमा विद्रोहको अवस्था निम्त्याउन सक्ने चेतावनी दिए ।
उनले सरकार संख्याको बलमा विधि र प्रक्रियालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाउँदै प्रतिपक्षको सदाशयतालाई कमजोरी नठान्न चेतावनी दिए । साथै, जनताको अभिमतलाई विश्वास नगरी संसदलाई निष्क्रिय बनाउँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु उचित नभएको उल्लेख गरे ।
उनले नीति तथा कार्यक्रम, बजेट तथा अन्य राष्ट्रिय मुद्दामा व्यापक संसदीय छलफल आवश्यक रहेको बताउँदै संसदलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरे ।
त्यसैगरी, उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी भएको सन्दर्भ उल्लेख गर्दै सबै पक्षको सम्पत्तिको निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे । हाल सरकारमा रहेका व्यक्तिहरूको अस्वाभाविक सम्पत्तिबारे पनि छानबिन आवश्यक रहेको उनको भनाइ छ ।




















