काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा खाली गराइएको सुकुम्बासी बस्ती नजिकै बागमती नदीमा आज दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार अन्दाजी ५५–६० वर्ष उमेरका पुरुष मृत फेला परेका हुन्। उनी खोटाङ घर भई बल्खु क्षेत्रमा बस्दै आएका इन्द्रबहादुर राई रहेको खुलेको छ।
परिवारका अनुसार राई शुक्रबार बिहान “घर भत्किएको दृश्य हेर्न सक्दिनँ” भन्दै घरबाट निस्किएका थिए। त्यसपछि दिउँसो मृत अवस्थामा भेटिएको उनकी पत्नी सरिता राईले बताएकी छन्।
“बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै ‘हेर्न सक्दिनँ’ भनेर निस्किनुभएको थियो,” मृतककी पत्नी सरिताले भनिन्, “अहिले यस्तो अवस्थामा भेटिनुभयो।”
घटनास्थलमा मृतकका परिवारका सदस्य तथा स्थानीयबासी उपस्थित छन्। स्थानीयका अनुसार राईको परिवार लामो समयदेखि बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको थियो। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ।



















