काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालले वर्तमान सरकारको सुरुआती कामप्रति असन्तुष्टि जनाएका छन्।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको अधिकारमाथि हस्तक्षेप गर्न थालेको आरोप लगाए।
उनले वास्तविक सुकुम्बासीको पहिचान नगरी तथा वैकल्पिक व्यवस्था नगरी बस्तीमा डोजर चलाउनु उचित नभएको बताए। “सुकुम्बासीको पहिचान नगरी, वैकल्पिक व्यवस्था नै नगरी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन। यो सरकारले एकपछि अर्को गर्दै जनविरोधी काम गरिरहेको छ। जनताको बास बस्ने अधिकार खोसिरहेको छ,” उनले भने।
नेपालले सरकारलाई सचेत गराउँदै जनविरोधी गतिविधि नगर्न आग्रह गरे। “भावना पवित्र छ भने चाल्ने कदम पनि उचित र जायज हुनुपर्छ, नाजायज होइन। अहिले नै हामी आरोप लगाइरहने पक्षमा छैनौँ, मौका दिन चाहन्छौँ,” उनले थपे।
उनका अनुसार सरकारको सुरुआती कदमहरूबाट सकारात्मक संकेत नदेखिएको भन्दै सुधारको आवश्यकता रहेको उल्लेख गरे।



















