काठमाडौं । बुद्ध जयन्तीकै दिन सरकारले काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ।
२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख १८ गते, वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएको हो। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा पनि भत्काइएको जनाइएको छ।
गुम्बाका अध्यक्ष कपुरे तामाङका अनुसार बुद्ध जयन्तीका दिन कम्तीमा संरचना नभत्काउन अनुरोध गरिए पनि डोजर चलाउँदा बुद्धको मूर्ति लथालिङ्ग बनाइएको छ।
काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि भने गुम्बाभित्र रहेका बुद्धका मूर्ति तथा अन्य महत्वपूर्ण सामग्रीहरू बाहिर निकालिएको थियो।
यस्तै, बल्खु, टेकु नजिकको वंशीघाट, बालाजु लगायतका क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने अभियान आज बिहानदेखि जारी रहेको छ।





















