काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार तथा अतिक्रमित क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानअन्तर्गत दोस्रो चरणको कार्य आजदेखि सुरु भएको छ।
महानगरपालिकाले वडा नम्बर १४ को बल्खु क्षेत्रमा बनेका घरटहरा भत्काउन नगरप्रहरी र सुरक्षाकर्मी परिचालन गरेको छ। डोजर चलिरहँदा कतिपय स्थानीय सामान ओसारिरहेका छन् भने कतिपय आफ्नै घर भत्किएको दृश्य टुलुटुलु हेर्न बाध्य भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। सोहीअनुसार काठमाडौं महानगरपालिकाले आजदेखि अनाधिकृत संरचना हटाउने अभियान तीव्र पारेको हो।
यसैगरी बल्खु नजिक पर्ने वडा नम्बर ११ को वंशीघाट क्षेत्रमा पनि आजै डोजर चलाइएको छ। प्रशासनका अनुसार वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका अतिक्रमित क्षेत्रमा समेत क्रमशः संरचना हटाइनेछ।
प्रशासनले वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक बस्ती खाली गराउने निर्णयअनुसार अभियान अघि बढाइएको जनाएको छ। नदी किनार तथा सार्वजनिक, सरकारी वा निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीलाई मानवीय रूपमा व्यवस्थापन गर्ने र सम्भावित विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको प्रशासनले स्पष्ट पारेको छ।
यसअघि सरकारले वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रमा पनि डोजर चलाइसकेको छ। बाँकी स्थानमा आजबाट अभियानलाई विस्तार गरिएको हो।




















