काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा सिद्धार्थ गौतमको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन्। उनले यही दिन गौतम बुद्धले बोध प्राप्त गरेको र मानव सभ्यताले शान्तिका अग्रदूत प्राप्त गरेको बताए।
ओलीले करिब २५७० वर्षअघि यही दिन बुद्ध महापरिनिर्वाणमा विलीन भएको स्मरण गर्दै यस दिवसको ऐतिहासिक तथा आध्यात्मिक महत्वलाई उजागर गरेका छन्।
उनले बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको पावन अवसरले नेपालसहित विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव फैलिन सकोस् भन्ने कामना गरेका छन्।
“मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” ओलीले सन्देशमा भनेका छन्।
उनले सबैको अन्तर्मनमा करुणाको दीप प्रज्वलित होस् भन्ने कामना गर्दै बुद्धका शिक्षाले विश्वमा स्थायी शान्ति स्थापना गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।




















