काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोधमा अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। संघका अध्यक्ष अमर परियारका अनुसार पहिलो चरणमा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउने कार्यक्रम राखिएको छ, जसअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई जानकारी गराइनेछ।
दोस्रो चरणको आन्दोलन वैशाख २० गतेदेखि सुरु हुनेछ। यसअन्तर्गत देशभरका जिल्ला, पालिका र बस्तीस्तरमा विरोध सभा तथा भेला आयोजना गरिनेछ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
संघले वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेको छ। यस्तै, सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य नरोके र विस्थापितहरूको बसोबासको व्यवस्था नगरे जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहित अनिश्चितकालीन आमहड्ताल गर्ने चेतावनी दिएको छ।
सरकारको कदमविरुद्ध सुकुम्बासीहरूको आन्दोलन थप चर्किने संकेत देखिएको छ।





















