
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीमा सदस्यता अद्यावधिकको नाममा बदनीयतपूर्ण काम भइरहेको आरोप लगाउँदै त्यसमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेको छ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको देउवा समूहको भेलाले पार्टी सभापति गगन कुमार थापाले पूर्वाग्रही ढंगले क्रियाशील सदस्यता पुनः नवीकरण गर्न खोजिरहेको निष्कर्ष निकालेको हो।
खड्काद्वारा जारी विज्ञप्तिमा १५औँ महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता नवीकरण र वितरणको काम लगभग सम्पन्न भइसकेको अवस्थामा फेरि अद्यावधिकका नाममा सदस्यता खारेज गरी नयाँ प्रक्रिया अघि बढाउनु गलत भएको उल्लेख गरिएको छ। देउवा समूहले यस्तो गतिविधि नगर्न–नगराउन अपिलसमेत गरेको छ।
यस्तै, शेखर कोइराला समूहले पनि सदस्यता अद्यावधिकको प्रस्ताव अस्वीकार गरेको छ। बालुवाटारस्थित एक कार्यक्रममा बागमती प्रदेशस्तरीय छलफल गर्दै कोइराला पक्षका नेताहरूले अहिले पुनः सदस्यता अद्यावधिक गर्नु व्यवहारिक नभएको धारणा राखेका हुन्।

छलफलमा सहभागी नेताहरूले पार्टी एकता कायम गर्न नेतृत्व असफल भएको संकेत गर्दै पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी सभापति थापामाथि नै रहेको बताएका छन्।
यसरी, नेपाली कांग्रेसभित्र सदस्यता अद्यावधिकको विषयले आन्तरिक विवाद झनै चर्किएको देखिएको छ।




















