काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गर्न खोजेकोप्रति कडा असन्तुष्टि जनाएका छन्।
आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनी भ्रमणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त निर्णय अव्यवहारिक रहेको बताएका हुन्।
थापाले सीमावर्ती क्षेत्रका नागरिकसँग अन्तर्क्रिया गर्दा उनीहरूको दैनिकीमा परेको प्रभाव देखेर आफू गहिरो छटपटी र आक्रोशसहित फर्किएको उल्लेख गरेका छन्। उनका अनुसार कागजमा मात्र सीमित रहेको नियमलाई संघीय सरकारले कडाइका साथ लागू गर्न खोज्दा स्थानीय नागरिकको जीवन झन् कठिन बनेको छ।
‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने’ व्यवस्था भुक्तभोगीका लागि कति कष्टकर छ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्नेहरूले मात्र बुझ्ने उनले बताएका छन्।
उनले सीमा क्षेत्रमा देखिएको अवस्था र नागरिकका आवाजले राज्यको नीति तथा व्यवहारप्रति गम्भीर प्रश्न उठाएको पनि उल्लेख गरेका छन्।




















