काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदारप्रसाद रिजालले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको जनाएका छन्।
शिक्षाध्यक्ष केसीका अनुसार आफूहरू कक्षाकोठामा सक्रिय रहने प्राध्यापक भएकाले प्रशासनिक जिम्मेवारीबाट हटेर नयाँ सरकारलाई सहज वातावरण बनाउन यस्तो निर्णय लिइएको हो।
हालै सिफारिस गरिएको अध्यादेशमा विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधान समावेश गरिनुका साथै सत्तारुढ दलका केही नेताहरूको अभिव्यक्तिबाट पनि पदाधिकारी परिवर्तनको संकेत देखिएपछि उनीहरूले बिहीबार कुलपति बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।
उक्त पदाधिकारीहरू मध्ये केसी र रिजाल पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए।




















