काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलका अनुसार वर्तमान विश्व द्वन्द्व, स्वार्थपरायणता, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रास जस्ता समस्याबाट ग्रसित रहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएका छन्।
उनले सिद्धार्थ गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्नुपर्ने बताए। यसले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले बुद्धले प्रतिपादन गरेको आर्य अष्टाङ्गिक मार्गले मानव जीवनलाई दुःखबाट मुक्त गर्ने बाटो देखाएको उल्लेख गर्दै शान्ति, सहअस्तित्व र मध्यम मार्गमा आधारित दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
उनले बुद्धका सन्देशलाई व्यवहारमा लागू गर्न सके मात्र दीर्घकालीन शान्ति र समृद्धि हासिल गर्न सकिने दोहोर्याए।




















