काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) पदमा रहेर काम गर्न नपाउने गरी निलम्बन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएका कारण कारवाही स्वरुप निलम्बन गरेको हो । तामाङलाई अनुशासन समितिको मिति २०८३-०१-०७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएको थियो ।
उनले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३-०१-०८ गतेका दिन दिएको स्पष्टिकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तवुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकाले सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुञ्जेलसम्मका जिल्लाको सभापति पदबाट निलम्वन गरिएको जनाइएको छ ।
यस्तै अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व का.वा. सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पस्टिकरण सोधिएकोमा सम्मानित सर्बोच्च अदालतको मिति २०८३-०१-०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकाले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरिएको जनाइएको छ ।




















