काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत नेपाल सरकार र चीनबीच सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बुधबार भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
यसअघि पहिलो चरणमा सन् २०१९ देखि कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या छिटो समाधान गरी कामलाई गति दिने प्रतिबद्धता जनाए। उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै चीनबाट थप लगानीको अपेक्षा समेत व्यक्त गरे।
चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए।




















