काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शनविपरीत रहेको आरोप लगाएका छन्।
बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला कदमहरूले जनतामा निराशा बढाएको उल्लेख गरे। उनले ट्रेड युनियन र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै आपत्ति जनाए।
पौडेलले लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी संगठनको अधिकार विश्वव्यापी रूपमा स्वीकार्य अभ्यास भएको उल्लेख गर्दै वर्तमान सरकार त्यही अधिकारविरुद्ध उभिएको बताए। उनले निर्वाचित सरकारले संविधानको मार्गदर्शनअनुसार चल्नुपर्नेमा जोड दिए।
सरकारले जनसरोकारका विषयलाई बेवास्ता गरेको र जनताको समस्याप्रति लापरवाही देखाएको आरोप समेत उनले लगाए। साथै, संविधान र लोकतान्त्रिक मूल्यलाई सरकार सञ्चालनका आधार स्तम्भका रूपमा लिनुपर्ने उनले बताए।
पछिल्लो समय सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।




















