काठमाडौं । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। अन्तरप्रदेशमा सञ्चालन हुने सवारीसाधनमा लागू हुने गरी नयाँ भाडादर बुधबारदेखि नै कार्यान्वयनमा आएको विभागले जनाएको छ।
विभागका अनुसार अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक तथा तराईका मालबाहक सवारीसाधनमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाइएको छ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो। पछिल्लो निर्णय भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ वैशाखको सहमतिपछि लागू गरिएको हो।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जसलाई भाडा वृद्धिको मुख्य कारणका रूपमा लिइएको छ। यद्यपि, विद्युतीय सवारीसाधनलाई भने भाडा बढाउन नदिने विभागले स्पष्ट पारेको छ। नियम उल्लंघन गरे कारबाही गरिने चेतावनी समेत दिइएको छ।




















