काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरी संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई सहभागी हुन निमन्त्रणा गरिएको छ।
बैठकमा सरकारको अध्यादेश ल्याउने निर्णय, संसद् अधिवेशन स्थगनको विषय तथा विपक्षी दलहरूको संयुक्त प्रतिवाद रणनीतिबारे छलफल हुने जनाइएको छ।
सरकारले मन्त्रिपरिषद् बैठकमार्फत संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याएको विषय राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएपछि मात्र सार्वजनिक भएको थियो। यस कदमप्रति प्रतिक्रिया दिँदै कांग्रेस नेता आङ्देम्बेले यसलाई अलोकतान्त्रिक र संसद्को अपमान भएको बताएका छन्।
उनले लोकतन्त्र, संविधान र जनअधिकारको रक्षा गर्न प्रतिपक्ष एकजुट भएर अघि बढ्ने चेतावनी दिएका छन्। साथै, दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याइनुको कारणप्रति सरकारसँग प्रश्न समेत उठाएका छन्।
उक्त अध्यादेशप्रति नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।



















