काठमाडौँ । नेकपा एमालेका नेता एवं संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले आफ्नै दलका सांसदहरूप्रति समेत सरकारको विश्वास नरहनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
नेता बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो धारणा सार्वजनिक गरेका हुन् । झण्डै दुई तिहाइ बहुमतसहितको रास्वपा सरकारले संसद् छलेर दुई अध्यादेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन्- ‘सरकारसँग झण्डै दुई तिहाइको जनमत छ । सरकारले चाहेको जतिसुकै बेला र जुनसुकै समयमा पनि सजिलैसँग संसदबाट विधयेक पारित गराउन सक्दछ तर सरकारले आफ्नै दलका सांसदहरूको बिधायिकी कार्यक्षमताप्रति समेत भरोसा नगरी संसद छलेर अध्यादेशको बाटो रोज्नु असाध्यै दुर्भाग्यपुर्ण रहेको छ ।’
उनले अगाडि लेखेका छन्- ‘यसबाट के स्पस्ट हुन्छ भने सरकारलाई शक्ति केन्द्रिकरणको भिषण भोक जागेको छ र उ संसद्को खुला बहस र उत्तरदायित्वबाट भाग्न खोजिरहेको छ । सरकारले बुझ्नुपर्दछ कि आह्वान गरिसकेको संसदको अधिबेशन हतारहतारमा स्थगित गरेर अध्यादेशमार्फत् शासन चलाउन खोज्नु केवल संसदीय प्रक्रियाको छलछाम मात्र होइन, दुइ तिहाइको जनमतप्रतिको बेवास्ता र घोर अपमान पनि हो । जब दुई तिहाइको शक्तिशाली बहुमत भएको सरकारले नै संसदलाई बोझ मान्न थाल्दछ, तब स्वाभाविक रूपमा प्रश्न उठ्छ कि यो ब्यापक जनमत आखिर किन र केका लागि ?’
उनी अगाडि थप्छन्- ‘हिजो अध्यादेशलाई लोकतन्त्रविरुद्धको कदम र संसदमाथिको हस्तक्षेप भन्ने रास्वपाहरुले नै आज सरकार चलाइरहेका छन् तर दुई तिहाइको जनमत पाएर पनि संसदको सामना गर्न नसक्ने हो भने त्यो जनादेशको अर्थ के रह्यो ? अध्यादेशलाई आपतकालीन उपायका रूपमा होइन राजनीतिक दाउपेचका रूपमा उपयोग गर्ने प्रवृत्ति तुरुन्त रोकिनुपर्छ नत्र संसदको प्रभावकारिता मात्र होइन, लोकतन्त्रप्रतिको जनविश्वास समेत नै कमजोर हुँदै जानेछ ।’




















