काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो। आदेशमा सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्न भनिएको छ।
गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी छन् र रिहाइको माग गरेकी छन्।
यससँगै अदालतले कारण देखाउ आदेश पनि जारी गर्दै, माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेश गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
सुनुवाइका क्रममा गोल्छाको पक्षबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल तथा अधिवक्ताहरू पंकजकुमार कर्ण र सूर्यराज दाहालले बहस गरेका थिए।
सीमा गोल्छाले वैशाख १४ गते रिट दायर गरेकी थिइन् भने नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते गोल्छालाई पक्राउ गरेको थियो।




















