काठमाडौं । नेपाली कांग्रेस भित्रको संस्थापनइतर समूहको बैठक सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा होटल स्मार्ट, धुम्बाराहीमा बसिरहेको बैठकमा समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी छन् ।
यसअघि यही स्थानमा ६ वैशाखमा भएको भेलाले ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो।
विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन गरिएसँगै खड्का असन्तुष्ट रहँदै आएका छन्। उनले उक्त महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, अदालतले रिट खारेज गर्दै थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएको थियो।
त्यसपछि पनि खड्काले आफ्ना समूहका नेताहरूसँग निरन्तर बैठक र छलफल गर्दै आएका छन्। उनका गतिविधिलाई संस्थापन पक्षले अनुशासनविपरीत भन्दै स्पष्टीकरण मागेको भए पनि उनले स्पष्टीकरण बुझाएका छैनन्।
यहीबीच, सभापति थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवासमै पुगेर भेटघाट गरेका थिए। दुई नेताबीच भएको छलफलका विषयमा भने अहिलेसम्म सार्वजनिक रूपमा कुनै विवरण बाहिर आएको छैन।




















