काठमाडौं । नेपाली कांग्रेसले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने तयारीप्रति आपत्ति जनाउँदै यस्तो कदम मर्यादाविपरीत हुने बताएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले कानुन निर्माण प्रक्रिया जनताको प्रतिनिधि संस्थामार्फत पारदर्शी रूपमा हुनुपर्ने धारणा राखे।
‘सरकारले प्रस्ताव गरेपछि संसद् बोलाइएको थियो, तर बिना जानकारी फेरि स्थगित गरिएको पाइयो,’ चालिसेले भने, ‘एकातिर संसद् बोलाउने, अर्कोतिर स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन।’
उनका अनुसार यस्तो अभ्यासले सरकारलाई दीर्घकालीन रूपमा अनुकूलता प्रदान नगर्ने बताउँदै उनले सबै विषयमा संसद्मै खुला र पारदर्शी छलफल हुनुपर्नेमा जोड दिए।
‘बोलाइएको संसद् स्थगित गरेर अध्यादेश ल्याइयो भने त्यो उचित हुँदैन,’ उनले भने, ‘यसप्रति हामी असहमति व्यक्त गर्छौं।’




















