काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ उन्मुख भइरहेको आशंका व्यक्त गरेका छन्।
सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको आरोप लगाए।
ठाकुरले विगतमा समेत केही हदसम्म स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिएका ट्रेड युनियन, शैक्षिक संस्था तथा अदालत परिसरमा अहिले प्रतिबन्ध लगाइँदै गएको भन्दै आपत्ति जनाए। जनताको अधिकार संकुचित हुँदा राष्ट्र नै कमजोर बन्ने उनको भनाइ थियो।
उनले निजी क्षेत्रका व्यवसायीमाथि आक्रमण, लुटपाट र बिना कारण गिरफ्तारी भइरहेको आरोप पनि लगाए। ‘सरकारले आफूलाई जेनजी सरकार भन्छ, तर जेनजीको वास्तविक अर्थ के हो? के पुरानो पुस्ता सबै गलत र अहिलेको मात्र सही हो?’ भन्दै उनले प्रश्न उठाए।
इतिहास र परम्परा नष्ट गरेर कुनै पनि समाज अघि बढ्न नसक्ने उल्लेख गर्दै उनले मधेसको समस्या समाधान गर्ने आश्वासन पूरा नभएको बताए। मधेसमा पुनः असन्तुष्टि बढ्दै गएको उनको दाबी छ।
शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रगति हुन नसकेको भन्दै उनले विकास प्रक्रिया पछि धकेलिएको टिप्पणी गरे। साथै, केन्द्रबाट जनसंख्या र राजश्वको आधारमा वितरण हुनुपर्ने बजेट न्यून भएकोमा पनि उनले चिन्ता व्यक्त गरे।
प्रधानमन्त्री र मन्त्रीहरू जनताका समस्याप्रति गम्भीर नभएको आरोप लगाउँदै उनले अन्त्यमा प्रश्न गरे, ‘के देश फेरि तानाशाहीतर्फ गइरहेको छ?’




















