काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अगाडि नबढाइने बताएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अनिवार्य बनाउने अभ्यास सुरु गरिएको बताए।
अध्यक्ष दाहालले सरोकारवालाको समस्या, भावना र मनोविज्ञानलाई ध्यानमा राखेर मात्रै संसद्मा विधेयक अघि बढाइने स्पष्ट पारे। “अब कुनै पनि विधेयकमा छलफल गर्दा पहिलो दिनमै सम्बन्धित पक्षलाई सहभागी गराएर उनीहरूको धारणा समेट्ने प्रणालीको सुरुवात भएको छ,” उनले भने।
उनले कतिपय अवस्थामा विधेयक कसरी तयार भएर आउँछ भन्नेमा अझै स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै संसद्मा आएपछि भने गम्भीरतापूर्वक छलफल गरेर टुंगो लगाइने बताए।
अध्यक्ष दाहालले संसद्मा ४० प्रतिशतभन्दा बढी युवा प्रतिनिधित्व हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसले नीतिनिर्माण प्रक्रियालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।




















