काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण बढाउने उद्देश्यसहित ‘युवाकेन्द्रित’ कार्यक्रम अघि सारेको छ।
वैशाख १० गते बसेको प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय तथा परामर्श बैठकले सदस्यता विस्तारमा युवाको सक्रिय सहभागिता बढाउने निर्णय गरेको हो।
पार्टीका महासचिव शंकर पोखरेलले हस्ताक्षर गरी पठाएको निर्देशनमा सूचना प्रविधि र डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै सुरुआतमा आफ्नै नेता तथा कार्यकर्ताका छोराछोरीलाई लक्षित गरेर योजना बनाइने उल्लेख गरिएको छ। साथै, नयाँ पुस्ताको संगठनलाई अनेरास्ववियु मार्फत संस्थागत गर्दै लैजाने रणनीति लिइएको छ।
निर्देशनमा अबका पार्टी गतिविधि ३० वर्षमुनिका युवालाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
बैठकले गरेका ८ बुँदे निर्णय कार्यान्वयनका लागि तल्ला तहसम्म पठाइसकिएको महासचिव पोखरेलले जानकारी दिएका छन्।




















