काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूले त्यसबारे छलफल गरेका छन् ।
छलफलबाट सम्भव भएसम्म सोमबार सर्वसम्मतिबाट नभए निर्वाचन प्रकृयाबाट दलको नेता चयन गरिने भएको हो ।
‘दलको नेता चयनका लागि हामीले छलफल गर्यौँ । भोलि बिहान ९ बजेबाटै आकांक्षीको नाम दर्ता लगायत प्रक्रिया हुन्छ । सर्वसम्मत वा निर्वाचन जे हुन्छ, भोलि हुन्छ,’ कांग्रेस सांसद भरतबहादुर खड्काले बताए ।
छलफलमा संसदीय मामिला अध्ययन तथा कानुनी विषयमा संसद् समन्वय बोर्ड बनाउने निर्णयमेत गरिएको उनले बताए ।
‘संसदीय मामिला अध्ययन तथा कानुनसँग सम्बन्धित रहेर संसद् विषय विज्ञसहितको समन्वय बोर्ड गठनबारे कार्यसम्पादन समितिलाई सुझाव पठाएका छौँ,’ उनले भने । त्यसबारे कार्यसम्पादन समिति बैठकबाट टुंगो लाग्ने उनले बताए ।
उक्त बैठकसँगै दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने बैठकले उक्त निर्णयलाई स्वीकृत गर्ने उनको भनाइ छ ।
प्रतिनिधि सभामा पुगेका ६ मध्ये नेपाली कांग्रेसले मात्रै सरकार गठनको महिना बित्दा पनि दलको नेता चयन गर्न सकेको छैन ।
यसका लागि ११ वैशाखमा निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको थियो ।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी हुन ।
दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक तथा सह–महामन्त्री प्रकाश रसाइली स्नेहीले प्रक्रिया अघि बढेको बताए ।
कार्यतालिका अघि बढाए पनि कांग्रेसले दलको नेता सहमतिमै टुंग्याउनेगरी छलफल गरिरहेको छ । तर सहमति नजुटे निर्वाचनलगत्तै मतगणना गरेर नजिता घोषणा गर्ने तयारी छ ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन । तीमध्ये दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यको मुख्य चर्चा छ ।
कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने व्यवस्था छ ।




















