काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा आइतबार सार्वजनिक गरिएको आफ्नो धारणा मार्फत उनले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित गर्नु अमानवीय भएको बताएका छन्। “चरालाई आफ्नो गुँड र माछालाई आफ्नो बासस्थान जत्तिकै प्रिय हुन्छ, त्यस्तै ३०औं वर्षसम्म बसेको घर भत्काइँदा कुनै नेपालीको आँशु नखस्ने प्रश्नै उठ्दैन,” उनले लेखेका छन्।
साम्पाङले घर केवल बसोबासको थलो मात्र नभई सामाजिक प्रतिष्ठासँग पनि जोडिएको विषय भएको उल्लेख गर्दै सरकारको कदमले सर्वसाधारणलाई गहिरो मानसिक आघात पुगेको बताएका छन्।
उनले वर्तमान सरकार विकास निर्माणमा उदासीन रहेको आरोप लगाउँदै पाँच वर्षको अवधिमा गरिने काम सुकुम्बासीलाई विस्थापित गर्ने र गरिब नागरिकको रोजीरोटी खोस्नेमा मात्र सीमित भएको टिप्पणी गरेका छन्।
त्यस्तै, उनले देशको सिमाना सम्बन्धी मुद्दा—महाकाली क्षेत्र, लिपुलेक र लिम्पियाधुरा—जस्ता राष्ट्रिय सवालमा बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकार गम्भीर नभएको पनि आरोप लगाए। “सरकारले सक्ने भनेको सुकुम्बासी बस्तीमा त्रास फैलाउने मात्रै हो,” उनले टिप्पणी गरेका छन्।
साम्पाङले आगामी दिनमा देशभर सुकुम्बासी बस्ती हटाउने क्रम बढ्ने आशंका व्यक्त गर्दै जनताले आफ्नो मतप्रति पछुतो महसुस गर्न सक्ने संकेत गरेका छन्। उनले अन्त्यमा “चुपचाप घण्टीमा छाप, चुपचाप सामान बोकेर टाप” भन्दै रास्वपा नेतृत्वको सरकारप्रति व्यंग्य गरेका छन्।



















