काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ। निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर प्रक्रिया रोकिएको हो।
निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अझै तय गरिएको छैन। दलको नेता सहमतिमै चयन गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो।
समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली स्नेही, मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।
तर शीर्ष नेताहरूबीच नै सहमति नजुट्दा प्रक्रिया प्रभावित भएको छ। सभापति गगनकुमार थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई समर्थन गरेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बे लाई अघि सारेका छन्।
यस्तै, अर्जुननरसिंह केसीले सहमति नभए आफू पनि चुनावमा जाने संकेत गरिसकेका छन्। नेताहरूबीच सहमति जुट्न नसक्दा तय गरिएको निर्वाचन कार्यक्रम नै स्थगित गरिएको हो।
यसअघि सार्वजनिक गरिएको तालिकाअनुसार आज दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ता, नामावली प्रकाशन, दाबी–विरोध, नाम फिर्ता र साँझ ५ बजे मतदान गर्ने कार्यक्रम तय गरिएको थियो। तर सहमति नजुटेपछि सम्पूर्ण प्रक्रिया अनिश्चित बनेको छ।




















