काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राई थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर आन्दोलनरत स्थानीयलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।
सरकारले बागमती किनारको बस्ती हटाउने तयारी गरिरहेका बेला शुक्रबार सांसद राई सुकुम्वासीहरूको अवस्था बुझ्न थापाथली पुगेका हुन्। बिना वैकल्पिक व्यवस्था आफूहरूलाई विस्थापित गर्न लागिएको भन्दै सुकुम्वासीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
प्रदर्शन स्थलमै पुगेर अवलोकन गरेका राईले सुकुम्वासीहरूको पक्षमा आफ्नो पार्टी उभिने स्पष्ट पारे। “सुकुमवासीको पक्षमा हामी हुनेछौं, हाम्रो पार्टी हुनेछ। अरू पार्टीको जिम्मा लिन सकिन्नँ, तर म सधैं सुकुम्वासीको हकका लागि बोलिरहन्छु,” उनले भने।
उनको यो अभिव्यक्ति सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीका बीच आएको हो, जसले राजनीतिक रूपमा समेत विषयलाई थप चर्काएको छ।




















